नियम १०
व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार

(१) नियम ८ को उपनियम (१) बमोजिमको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार शिक्षा नियमावली, २०४९ मा उल्लेखित माध्यमिक विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारको अतिरिक्त देहाय बमोजिम हुनेछः–

(क) उच्च माध्यमिक शिक्षा संचालन गर्नको लागि आवश्यक शिक्षकको व्यवस्था गर्ने ।

(ख) परिषद्बाट स्वीकृत पाठ्यक्रम एवं शैक्षिक कार्यक्रम अनुसार अध्ययन अध्यापनको उचित व्यवस्था मिलाउने ।

(ग) उच्च माध्यमिक शिक्षा संचालन गर्नको लागि आवश्यक आर्थिक स्रोत जुटाउने र प्राप्त स्रोतको अधिकतम उपयोग गर्ने ।

(घ) उच्च माध्यमिक शिक्षा संचालन गर्ने सम्बन्धमा परिषद्को नीति, निर्णय तथा निर्देशन अनुरुप कार्य गर्ने, गराउने ।

(२) नियम ८ को उपनियम (२) बमोजिम गठित व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) उच्च माध्यमिक विद्यालयको संचालन, रेखदेख, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम कारवाही गर्ने, गराउने ।

(ख) अध्यापनको लागि चाहिने शिक्षक तथा कर्मचारीहरुको उचित व्यवस्था गर्ने ।

(ग) उच्च माध्यमिक विद्यालय संचालन गर्नको लागि आवश्यक आर्थिक, भौैतिक एवं प्राविधिक स्रोतको व्यवस्था मिलाउने ।

(घ) परिषद्द्वारा स्वीकृत पाठ्यक्रम र शैक्षिक कार्यक्रम अनुसार अध्ययन अध्यापनको व्यवस्था मिलाउने ।

(ङ) शैक्षिक गुणस्तर अभिवृद्धिको लागि परिषद्, नेपालका विश्वविद्यालय तथा अन्य शैक्षिक निकायहरु बीच समन्वय कायम गर्ने ।

(च) उच्च माध्यमिक विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने ।

(छ) उच्च माध्यमिक विद्यालयको चल अचल सम्पत्तिको संरक्षण र सम्बद्र्धन गर्ने, गराउने ।

(ज) लेखापरीक्षक नियुक्त गर्ने र निजको प्रतिवेदन माथि कारवाही गर्ने ।

(झ) प्रत्येक वर्ष स्थानीय अभिभावक, चन्दादाता र शिक्षाप्रेमीहरुको साधारण सभा गर्ने र सो सभामा उच्च माध्यमिक विद्यालयको आय व्यय र शैक्षिक गतिविधिको विवरण पेश गर्ने ।

(ञ) स्वच्छ शैक्षिक वातावरण कायम राख्न उच्च माध्यमिक विद्यालयलाई विभिन्न रचनात्मक क्रियाकलापमा सहभागी
गराउने ।

(ट) अवाञ्छित गतिविधिमा संलग्न हुने शिक्षक, कर्मचारी एवं विद्यार्थी उपर आवश्यक कारवाही गर्ने ।

(ठ) शैक्षिक गुणस्तर अभिवृद्धिको लागि आयोजना हुने सेमिनार, गोष्ठी, तालीम आदि कार्यक्रममा शिक्षक एवं कर्मचारीलाई सहभागी    तुल्याउने ।

(ड) परिषद्को नीति, निर्णय र निर्देशन अनुरुप अन्य कार्य गर्ने, गराउने ।